
वासिङ्टन —रुस र युक्रेनबीच युद्धविराम गर्ने उद्देश्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच शुक्रबार अलास्कामा हुने भनिएको शिखर वार्ताको ईयूसहित विश्वका केही देशले विरोध गरिरहेका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि युद्धरत एक पक्षलाई नै अलग राखेर गरिने कुनै पनि वार्ताले मान्यता नपाउने टिप्पणी गरेका थिए ।
अलास्का वार्ता हुनुअगावै विवादमा पर्न सक्ने देखिएपछि अमेरिका यतिबेला उक्त वार्तामा जेलेन्स्कीलाई पनि सामेल गराउने प्रयासमा रहेको उपराष्ट्रपति जेडी भान्सले सोमबार बताएका छन् । किभको उपस्थितिका लागि युक्रेनका युरोपेली सहयोगीहरूले पनि निरन्तर दबाब दिइरहेका छन् ।
‘सबैभन्दा महत्त्वपूर्ण अवरोध भनेको भ्लादिमिर पुटिनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्तामा कहिल्यै नबस्ने बताएपछि देखिएको छ,’ फक्स न्युजको कार्यक्रम ‘सन्डे मर्निङ फ्युचर्स’ लाई दिएको अन्तर्वार्तामा उपराष्ट्रपति भान्सले भने, ‘हामी अहिले यस्तो बिन्दुमा छौं, जहाँ हामी स्पष्ट रूपमा तालिका र यस्तै उपायहरू पत्ता लगाउने प्रयास गरिरहेका छौं । राष्ट्रपति ट्रम्प, पुटिन र जेलेन्स्की बसेर यस द्वन्द्वको अन्त्यका बारेमा छलफल गर्न सक्ने वातावरणको खोजीका लागि हाम्रो प्रयास रहनेछ ।’
उपराष्ट्रपतिले ‘युक्रेनी र रुसी’ जनता दुवैको सम्मान हुने गरी अमेरिकाले वार्ताद्वारा समाधान खोज्ने प्रयास गरिरहेकोमा जोड दिए । भने, ‘यसले कसैलाई अति खुसी पनि बनाउने छैन र कसैलाई अति दुःखी पनि हुनुपर्ने छैन ।’जेलेन्स्कीबिना अलास्कामा अमेरिका र रुसबीच हुने भनिएको शीर्षस्थ वार्ताले किभलाई आफ्नो भू–भाग क्रिमलिनलाई फिर्ता गर्नुपर्ने हो कि भन्ने चिन्ता थपेको छ भने युरोपेली युनियनले रुसद्वारा राखिएको उक्त सर्तलाई अस्वीकार गरेको छ ।

